काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘मंजिले’को म्यजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ले सयुक्त रुपमा यस गीतलाई लेखेका हुन्। शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ ।

इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल युवा जोडीको जीवनमा आइलागेको दुखद दुर्घटनाको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ। करिब ६ मिनेटको भिडियोमा निर्देशक गणेश शाहीले राम्रो कथा प्रस्तुत गरेका छन्। म्युजिक भिडियो पूरै हेरिसकेपछि एउटा राम्रो तर दुखद कथाले भरिएको फिल्म हेरेको प्रतीत हुन्छ।

‘स्याड भर्जन’ यस गीतको भिडियोमा एक प्रेमिकाले आफ्नो प्रेमीलाई गरेको प्रेमलाई देखाइएको छ । यो गीतको भिडियोमा राहुल शाह व्हील चेयरमा देखिएका छन् भने आश्मा बिश्वकर्मा उनकी प्रेमिका बनेकी छिन्। राहुल शाहको कन्सेप्ट र कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई पवन सुस्लिङले छायाँकन र सम्पादन गरेका हुन्। प्रतिमा शर्मा निर्मात्री रहेको यस गीतको भिडियोलाई ‘राइट ट्युन इन्टरटेन्मेण्ट‘ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।