काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनु भएको छ ।  

प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । मंगलबारबाट काठमाडौंमा सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले सामूदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिवीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले वन संरक्षणको नाममा स्थानीय समूदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराउनु भयो  । 

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिवी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गर्नु भयो ।