काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गर्नुभयो । उहाँले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताउनु भयो । उहाँले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताउनु भयो । उहाँले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताउनु भयो ।
उहाँले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताउनु भयो । काँग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उहाँले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गर्नुभयो । आफूहरुको अभियान काँग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पार्नुभयो ।
आचार्यले आफूहरुले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताउनु भयो ।







