काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार हुनु भएको छ ।
पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनु भएको हो ।
तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएको गौतमको सर्त छ । विगतमा मलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाई छ ।
उहाँले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नु भयो । एमाले मैले निर्माण गरेको पार्टी हो भन्दै गौतमले त्यसलाई माया लाग्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनु भयो । उहाँले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताउनु भयो ।
गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताउनु भयो ।
यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भयो । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनि प्रश्न गरेका थिए । ओलीले अव थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनु भयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो ।
ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।







