काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भुमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको बताउनु भयो । उहाँले सो नक्शाप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाउन सरकारसँग माग गर्नुभयो । उहाँले कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत माग गर्नुभयो । 

उहाँले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताउनु भयो । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदुत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुभएको भन्दै उहाँले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गर्नुभयो । उहाँले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदुतले दिनुभएको वक्तव्यको पनि बिरोध गर्नुभयो । 

उहाँले राजदुत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताउनु भयो ।