काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफू राजनीतिमा आउन सक्ने बताएका छन् ।

बिहीबार ट्वीट गर्दै आविष्कार केन्द्रका प्रमुख पुनले आफू राजनीतिमा आउने र सांसद बन्ने सम्भावना रहेको बताएका हुन् ।

गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रूपमा रहिरहने हो भने आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उनले बताएका छन् ।

‘आम नागरिकहरूसँग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न,’ उनले भनेका छन्, ‘तर, अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रूपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरिकहरूले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला ।’