काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

समितिका सदस्य ऋषिराज आचार्यले संवाद आवाजरहित बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिनुभयो । “चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादलाई अनिवार्यरूपमा आवाजरहित (बीप) गर्न लगाई सोपश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो । त्यो ल्याएपछि उहाँले अनुमति पाउनु हुन्छ”, सदस्य आचार्यले भन्नुभयो ।

रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।