काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

शुक्रबार प्राधिकरणले शाहलाई सात दिन भित्रमा लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

महानगरका प्रहरीले बिहीबार प्राधिकरणको क्षेत्रमा प्रवेश फेन्सिङ तारवार काटेका थिए ।

प्राधिकरणले सोधेको स्पष्टीकरणमा बताइएको छ, ‘तारवार फेन्सिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईँलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसूरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने ?’

प्राधिकरणले बिहीबार प्रमुख शाहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।