काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवाष नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ ।  

हामीले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपार्टी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति ठिक नभएको उहाँको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको स्पष्ट पार्नु भयो । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताउनु भयो । 

उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेपनि त्यसलाई संशोधन गर्न भने मिल्ने परिपार्टी नभएको बताउनु भयो ।