काठमाडौं । नेपाली काँग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।  

आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सो घटनामा परी खर्बाैको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद खड्काले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह समेत गर्नु भयो । 

सांसद खड्काले संखुवासभाको हेवा खोलामा वेपत्ता भएकाहरुको उद्धारको लागि खटिएका प्रहरीहरुमात्रै पर्याप्त नभएकाले त्यसमा थप उद्धारकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नु भयो ।