पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै ताप्लेजुङस्थित विभिन्न संघ–संस्थाहरूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

आफूलाई पहिचानका पक्षमा रहेको दाबी गर्ने संघसंस्थाहरूले भने गृहजिल्लामै भट्टराईलाई प्रवेश रोक लगाउने घोषणा गरेका हुन्।

जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ।