पोखरा। काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

नेपालमा चलचित्र आदिपुरुषबारेको विवाद चर्केपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाउँदै स्पष्टीकरण दिएको छ ।

कम्पनीले इमेलमार्फत पठाएको पत्रमा चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरिएको दाबी गरिएको छ ।

यद्पि नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए पत्रमार्फत माफी पनि मागिएकाे छ । ‘नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए माफी चाहन्छौँ । यो कहिले पनि जानाजानी असमानताको कारण थिएन’, पत्रमा उल्लेख छ ।