काठमाडौ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरुले विभिन्न प्रश्तुति राख्दै सकिएको हो ।
दिउँसो २ बजे शुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डाहरु राख्नुभएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रश्तुत गर्नुभएको बताउनु भयो ।
उहाँकाअनुसार बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेश भएको छ ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रश्तुती दिनुभएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भुमिकाको सम्बन्धमा कुरा राख्नुभएको उहाँले जानकारी गराउनुभयो ।
बैठक भोलि(बुधबार) बिहान ११ बजेका लागि बोलाइएको छ । भोलिबाट प्रत्येक केन्द्रिय समिति सदस्यहरुलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो ।







