चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे ।

उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए । पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो ।

एक कांग्रेसले अर्को कांग्रेसकै नेता कार्यकर्ताविरुद्ध आरोप प्रत्यारोप गर्नाले पार्टी कमजोर हुँदै गएको उनको भनाइ छ। यही कारण पार्टीलाई मजबुत बनाउन नसकिने पनि उनले बताए।

कांग्रेसले आफूमा सुधारको अभियान नगरे जनतासँग जोडिन गाह्रो पर्ने भन्दै उनले पार्टी सुधारको एउटै महत्त्वपूर्ण आधार विधानको कडाइका साथ कार्यनयन रहेको बताए।

समयभित्र पार्टीले गर्नुपर्ने काम गर्ने हो भने अधिक समस्याको समाधान निस्किने उनले बताए।