काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुन के-कति मात्रामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ।

कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ।

साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार बिन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ।

त्यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरूवा औ‌ठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने पनि कार्यालयले जनाएको छ।

मोबाइलको हकमा आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार लाग्दैन भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेका यात्रुले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउँछन् ।

यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको अवस्थामा भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउँछ ।