काठमाडौं । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गर्नुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहनुभएका नेता विश्वकर्माले नेपाली काँग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गर्नुभयो ।
समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली काँग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उहाँको भनाई थियो । नेता विश्वकर्माले नेपाली काँग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताउनु भयो ।
त्यस अवसरमा नेता विश्वकर्माले काँग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गर्नुभएको थियो । उहाँले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि काँग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताउनु भयो ।







