काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनुभएको छ । 

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताउनु भयो ।

उहाँले  प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने बताउनु भयो । उहाँले प्रदेशको हीत र संविधानको रक्षाका काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताउनु भयो । उहाँले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताउनु भयो । 

उहाँले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताउनु भयो ।