काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको बताउनुभएको छ ।
सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेबारेमा विचार हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरुको भविष्य उज्वल नरहेको बताउनु भयो । उहाँले आफू पद र जागिर खानका लागि मात्रै चलचित्र विकास बोर्डमा नआएको र चलचित्र सम्बन्धी ऐन एक महिनामै पास गर्छु भनेर कोही आए आफू राजिनामा दिन तयार रहेको बताउनु भयो ।
अध्यक्ष केसीले अध्यक्ष पद जान्छ भन्ने चिन्ता आफूलाई नभएको बताउनु भयो ।







