काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ । 

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताउनुभएको हो ।

उहाँले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताउनुभयो । उहाँले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताउनु भयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताउनु भयो । त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताउनु भयो । 

सभापति लामिछानेले गैर आवासिय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पार्नुभयो । पार्टीका नेताहरु कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उहाँले बताउनु भयो ।

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने बताउनु भयो । 

सभापति लामिछानेले गैर आवासिय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताउनुभयो । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उहाँको भनाई छ ।