ललितपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताउनुभएको छ । 

बिहीवार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति म हुँदै गएको बताउनु भयो । उहाँले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो ।

उहाँले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताउनु भयो । उहाँले एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताउनु भयो । 

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताउनु भयो । उहाँले अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले े नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताउनु भयो ।

उहाँले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताउनु भयो ।