काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताउनु भएको छ ।  

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले  विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताउनु भयो ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि  कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गर्नु भयो । सो अवसरमा उहाँले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गर्नु भयो । 

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।