काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ । 

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा काँग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताउनु भयो । महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्वनमा पर्ने बताउनु भयो । उहाँले पार्टीको बैठकमा यसबारेमा छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताउनु भयो ।

उहाँले पार्टीका नेताहरु भ्रष्टाचारी भएपनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गर्नुभयो ।