काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् । बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताउनु भयो । उहाँले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताउनु भयो । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उहाँले माग गर्नुभयो । 

त्यस्तै केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताउनु भयो । ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताउनु भयो । उहाँले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताउनु भयो । 

केन्द्रिय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताउनु भयो । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उहाँले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताउनु भयो । 

केन्द्रिय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताउनु भयो । उहाँले सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताउनु भयो । आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्ने बताउनु भयो ।