नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताउनुभएको छ ।
नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताउनु भयो । उहाँले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताउनु भयो । उहाँले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनु भयो । उहाँले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पूर्व प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताउनु भयो ।
मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।







