विराटनगर । भाटभटेनी सुपरमार्केटको सुनसरीको इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । नेपालकै ठूलो दाबी गरिएको सुपरमार्केट शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

इटहरी चोकभन्दा चार किलोमिटर पश्चिममा अवस्थित लवीपुरचोकमा निर्मित भवनमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले वैदिक विधिअनुसार पूजा गरी सुपरमार्केटको औपचारिक शुभारम्भ गरेका हुन् । उद्घाटनकै दिन सुपरमार्केट घुम्न र सामान खरिद गर्न आउने सर्वसाधारणको ठूलो घुइँचो लाग्यो ।

उद्घाटनको अवसर पारेर भाटभटेनीले आफ्ना ग्राहकलाई खरिदमा १० प्रतिशतसम्म छुटको अफर दिएको छ । व्यवस्थापक विनोद भट्टराईले हाललाई यो छुटको व्यवस्था गरिएको तर दसैँ, तिहारजस्ता चाडबाड पनि नजिक रहेकोले फेरि केही थपघट हुन सक्ने बताए ।

अल्कोहल र निकोटिन समूहबाहेकका सबै सामानमा १० प्रतिशत छुट दिइएको  र  इलेक्ट्रोनिक सामग्रीमा भने २० प्रतिशतसम्म छुटको अफर दिइएको भट्टराईले जानकारी दिए ।

३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लागत तीन अर्ब रुपैयाँ रहेको बताइएको छ । इटहरीको भाटभटेनीका ‘ए’, ‘बी’ र ‘सी’ ब्लक छन् । तीनवटा छुट्टाछुट्टै भवन निर्माण गरिएको छ ।

बेसमेन्टसहित हरेक ब्लकमा सात तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५०० गाडी पार्किङ गर्न सकिने बताइएको छ । मनोरञ्जनका लागि भुइँतलामा ८०० वर्गफिटका तीनवटा फाउन्टेन बनाइएको छ ।

‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान खरिद गर्न पइन्छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने आठ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएम छन् ।