पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । म्ृात्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् ।

गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो । उहाँको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

२५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभएको छ ।