२ फागुन, झापा । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो ।

स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उहाँको भनाइ थियो ।

दीर्घरोगी वडा नंं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिनुभयो ।

पाँचजना परिवारको अभिभावक उहाँ उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित हुनुहुन्छ । अर्काको घरमा दैनिक मजदूरी गर्दै आउनु भएका मियाँले यसअघि महिनामा रु पाँच सयबराबरको औषधि किनेर नियमित खानु परिरहेको बताउनुभयो ।सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक रु दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आउनुभएकामा अब निःशुल्क हुने भएपछि खुसी हुनुभएको छ ।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो ।

“पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,” उहाँले भन्नुभयो–“आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन् र उपचार गराउन खर्च पनि गर्न सक्छन् ।”

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिरहनुभएका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गर्नुभयो ।

“गरिबले खानका लागि बिहान–बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,” उहाँले खुसी हुँदै भन्नुभयो–“हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बीमा गरेर अति राम्रो काम ग¥यो ।” मुटु, मधुमेह र उच्च रक्तचापको औषधिका लागि भद्रपुर वा बिर्तामोड धाउने खर्च अब जोगिएको विश्वकर्माले बताउनुभयो ।

चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत रोगीको विवरण सङ्कलन गरिएकोे र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिनुभयो ।

“औषधि खरिद गर्न यो बजेटले वार्षिक नभ्याउने भयो”, उहाँले भन्नुभयो, “बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र बिमितहरुले रु एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौँ ।

” बिमितहरुको विवरण सङ्कलन गरेर मङ्सिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गर्नुभयो ।

सो बीमा यही फागुन महिनादेखि लागू हुने उहाँको भनाइ थियो । बीमामार्फत वार्षिक औषधि र उपचारमा प्रति परिवार रु एक लाखसम्म खर्च हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

वडा नंं ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गर्नुभयो ।