२२ फागुन, दमक । मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ ।प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आँै स्मृति दिवसका अवसरमा पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी सांसद महेन्द्रकुमारी लिम्बूले बताउनुभयो । ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहनुभएका बेलायत निवासी बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गर्नुभएको थियो ।

असहाय तथा विपन्नलाई सहयोग

नेपाली कांग्रेस १ नं प्रदेश सदस्य हुकुमसिंह राईले आफ्नो जन्मोत्सवको अवसरमा कमल गाउँपालिकाका असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराउनुभएको छ ।जन्मदिनलाई सेवासँग जोडिएर वर्सेनि परोपकारी कार्य गर्दै आउनुभएका उहाँले आज वडा नं ७ को सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोही वडाको पाथीभरा टोल निवासी मिगौला रोगी ५० वर्षीय मनोज लकान्द्रीलाई रु १५ हजार सहयोग गर्नुभएको हो ।

उहाँले वडा नं ४को जोगीचौनमा बस्दैआएका २६ विपन्न परिवारलाई जनही एक बोरा चामल, दाल , तेल र नून पनि उपलव्ध गराउनुभयो ।सहायता सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई यसरी नै स्वेच्छिक रुपमा सेवा पु¥याउँदै आएको बताउनुभयो । तीन वर्षअघि वडा नं ५ को आगलागी पीडितलाई पनि रु ४० हजार सहयोग उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाको निर्वाचनमा उहाँ वर्तमान अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथामा पराजित हुनुभएको थियो ।