काठमाडौँ, २३ फागुन : निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल ९सुपर स्पेसियालिटी केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ । सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पु¥याइने छ ।

सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ । अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिने छ । काठमाडौँको केन्द्रमा रहेको र सबैको पहुँच रहेको अस्पतालले रु १०० को टिकटमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्योपचार गराइरहेको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर डा अनुजजङ्ग रायमाझीले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन थप गर्ने तयारी गरिएको बताउनुभयो । अस्पतालले अहिले पनि कार्डियोलोजी, न्युरोलोजी, कलेजो, रगत, पेट, पाठेघरसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।  अत्याधुनिक एमआरआई उपकरणसमेत जडानको प्रक्रियामा छ । एक जनालाई एमआरआई गर्न ४५ मिनेट लाग्ने गरेकामा नयाँ अत्याधुनिक उपकरणले १५ मिनेट मात्र लाग्छ ।

यस्तै दीर्घकालीन दुखाइको पनि सर्वसुलभरुपमा अस्पतालमा उपचार गरिन्छ । यस्तो उपचार सरकारी अस्पतालमध्ये निजामती अस्पतालमा मात्र हुने गरेको छ ।  डा रायमाझीका अनुसार  विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि न्युरो सर्जरी, बालबालिका शल्यक्रिया, बाल सघन उपचार कक्ष, मुखको शल्यक्रिया जस्ता सेवा थप्न थालिएको छ ।  मुखको शल्यक्रियाका लागि चिकित्सक आइसकेको र उपचार कक्ष बनाउन थालिएको छ । 

उहाँले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताउनुभयो । विशेषज्ञतायुक्त अस्पताल बनाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीका संयोजकत्वमा अस्पतालको भावी सुधारको मार्गचित्र पेश गर्नका लागि पाँच सदस्यीय सुझाव समिति गठन गरिएको छ । 

विशेषज्ञतायुक्त बनाउनका लागि अस्पतालले १६ शय्याको ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालेको छ । अत्याधुनिक सघन उपचार कक्षका लागि अस्पतालले बजेट विनियोजनका काम अन्तिम चरणमा पु¥याएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । अहिले अस्पतालमा चार शय्याको साधारण सघन उपचार कक्ष र सात शय्याको कोभिड–१९ बिरामी सघन उपचार कक्ष छ । अत्याधुनिक सघन उपचार कक्ष शय्या बनाउनका लागि रु १८ करोड बजेट विनियोजन गर्न थालिएको छ । 

सबै प्रदेशका अस्पतालसँग समन्वय

 अस्पतालले आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा नै निजामती कर्मचारीका लागि सहुलियतमा उपचार गर्ने गरी सात  प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौत गरेर सेवा दिने तयारी गरेको छ ।  कर्मचारीलाई सबै प्रदेशका अस्पतालबाट पनि केन्द्रमा जस्तै सेवा दिइने अस्पतालका उपसचिव सापकोटाले जानकारी दिनुभयो ।

प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्ने छन् । अस्पतालले सबै प्रदेशमा रहेका अस्पतालसंँग सम्झौता गरी त्यहीँबाट नै निजामती अस्पतालले पाउने सुविधा कर्मचारीलाई दिने भएको छ  ।  “हामी सात वटै प्रदेशका अस्पतालसँंग सम्झौता गरेर निजामती कर्मचारीलाई यहाँबाट दिने सुविधा उपलब्ध गराउँछौँ”,  उहाँले भन्नुभयो, “अब आफ्नै प्रदेशमा त्यहाँका प्रदेश र स्थानीय तहका कर्मचारीले उपचार सेवा पाउने छन् ।”

निजामती सेवाका नायबसुब्बाभन्दा तलका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत उपचारमा यहाँ छुट पाउँछन् ।  अहिले अस्पतालमा ४० प्रतिशत निजामती र ६० प्रतिशत सर्वसाधारण उपचार गर्न आउँछन् । प्रदेशमा रहेका अस्पतालसँंग समन्वय गरेर त्यहाँ जनशक्तिको तालिमदेखि अन्य विशिष्टीकृत सेवासमेत उपलब्ध गराइने छ । अस्पतालले सर्वसाधारणलाई सहुलियत प्रदान गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सहकार्य गर्न थालेको छ । 

शैक्षिक कार्यक्रम सुरु

अस्पतालले उपचार सेवालाई प्रभावकारी बनाउनका लागि शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ । राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान ९वीर अस्पताल०सँंग स्वीकृति लिएर चिकित्सा शिक्षामा स्नातकोत्तर र स्नातक तहका कक्षा सञ्चालनको तयारी गरिएको उपसचिव सापकोटाले जानकारी दिनुभयो । 

अस्पताल एमएस, एमडी, डिएम र नर्सिङ तहमा स्नातक ९बिएनएस०को सम्बन्धन लिएर सञ्चालनको तयारीमा छ । “अस्पतालमा पढी यहीँका बिरामीको उपचारमा चिकित्सक संलग्न होऊन् भनेर हामी शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निजामती कर्मचारीका छोराछोरीलाई पनि पछि पढ्न सजिलो हुन्छ ।”

सेवा नपाएको गुनासो

रु ५० मा टिकट काटेर विशिष्टीकृत चिकित्सकसँग उपचार गर्न पाएपछि अस्पतालमा बिहानैदेखि नै सर्वसाधारणको भीड लाग्छ ।   “हामीले निजामती र सर्वसाधारण भनेर छुटाएका छैनौँ । जो पहिलो आउँछ, उसैले सेवा पाउँछ”, उपसचिव सापकोटाले भन्नुभयो, “ त्यसैले निजामती कर्मचारीले भनेको बेला छिटोछरितो सेवा पाउँदैनन् ।”

कर्मचारीले सेवा नपाएको गुनासो आएपछि अहिले अस्पतालले भने शय्या र स्वास्थ्य जाँच गराउने समय छुट्टाएको छ । कर्मचारीलाई कुल शय्याको ४० प्रतिशत र उपचारका लागि बिहान ७ – ९ बजेसम्म टिकट तथा बिहान ९ –११ बजेसम्म बहिरङ्ग सेवाको समय छुट्टाइएको उपसचिव सापकोटाले जानकारी दिनुभयो । अस्पतालले १० प्रतिशत शय्या भने गरिब र विपन्न वर्गका लागि छुट्टाएको छ । 

आन्दोलनका घाइतेको अस्पताल

कुनैबेला रत्नपार्क, पुतलीसडक, सहिदढोका र बागबजार आन्दोलनको केन्द्र बन्ने गरेकामा संसद् भवन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सारिएकाले अहिले नयाँ बानेश्वरतिर आन्दोलनकारी ओइरिन थालेका छन् । आन्दोलनमा घाइते भएकाको उपचार निजामती अस्पतालले नै गर्ने गरेको छ । 

उहाँ नयाँ बानेश्वरमा हुने झडपमा घाइते भएका आन्दोलनकारी र प्रहरीको उपचार निजामती अस्पतालमा हुने गरेको बताउनुहुन्छ । “आन्दोलन हुने दिन आकस्मिक सेवामा चिकित्सकहरू तयारी अवस्थामा बस्नुहुन्छ”, उहाँले भन्नुभयो, “सरकारी अस्पताल भएपछि आन्दोलनमा घाइते भएका धेरै बिरामी उपचार गर्न आउँछन् ।”

पुँजीगत खर्च सरकारले उपलब्ध गराउने अस्पतालमा अहिले ५७ चिकित्सकसहित ५६० कर्मचारी छन् । सरकारका बहालवाला तथा सेवानिवृत्त निजामती कर्मचारी तथा तिनका परिवारलाई सर्वसुलभ स्वास्थ्योपचारका लागि चीन सरकारसँग २०६३ जेठ ४ गते सम्झौता भई  २०६४ साल पुसमा निर्माण भएर २०६५ कात्तिक २९ गते सरकारलाई हस्तान्तरण गरिएको अस्पतालले २०६६ माघ ७ गतेदेखि बहिरङ्ग र आकस्मिक सेवा प्रदान गर्न शुरु गरेको हो । 

चीन सरकारकै  सहयोगमा अस्पतालमा अहिले ११५ शय्याको सर्जिकल भवन निर्माण भई हस्तान्तरणको चरणमा छ । अस्पतालले अर्बुदरोगका बिरामीको उपचारका लागि रेडियोथेरापी भवन निर्माण गरी आवश्यक उपकरण ल्याउनाका साथै बिरामीका लागि आवश्यकपर्ने ३५० सिलिन्डर  उत्पादन गर्नका लागि अक्सिजन प्लाण्ट जडानसमेत गरेको छ ।