२८ चैत, दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रसका सभापति शङ्कर डाँगीेले जानकारी दिनुभयो ।

पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलिए चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थरुपमा वस्तु स्थितिबारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिनुभयो ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो । यता नेकपा (एमाले)ले भने जिल्लाका सबै वडामा एकलरुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।