८ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जना सिफारिस भएका छन् । काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । नगर समितिले प्रदेश कमिटीलाई सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्यको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ ।
यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ । अब काँग्रेसले ५ जनामध्येबाट टुंगो लगाउने नाम मै गठबन्धनबाट मेयरको साझा उम्मेदवार हुनेछन् । काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादीले पाउने गठबन्धनमा सहमति भएको छ ।