१० बैशाख, काठमाडौं । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उपस्थित हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम प्रतिष्ठान शाखा भेलाको उद्घाटन गर्दै उनले भने, “पत्रकारिता जहिले पनि अग्रगमनको पक्षमा हुने भएकाले कुनै पनि पत्रकारले प्रतिगमन ठीक हो भन्न सक्तैन ।’’

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग उपप्रमुखसमेत रहेका अध्यक्ष श्रेष्ठले लोकतन्त्रको जग भनेको स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन हो भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य एवं पेशागत कमिटीका अध्यक्ष भोलानाथ पोखरेलले समाजवादी प्रेस सङ्गठनले राम्रा र क्षमतावान पत्रकारलाई सङ्गठित गरेकाले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आमसञ्चार क्षेत्र तथा पत्रकारले सामाजिक न्याय र समानताका पक्षमा जनमत सिर्जना गनुपर्ने उल्लेख गरे । सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले मुलुकलाई अग्रगमणको बाटोमा डो¥याउनका लागि समाजवादी प्रेस सङ्गठन स्थापना भएको बताए । अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, सङ्गठनका उपमहासचिव उर्मिला कुँवर, काठमाडौं महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकाल, लेखक शम्भु बराललगायतले पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादित बनाउनुपर्ने खाँचो औँल्याए ।
भेलाले किशोरकुमार सेढाइको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौरव पोखरेल, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष उदेन सायमी, सदस्यमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबुकृष्ण मानन्धर रहेका छन् ।