१७ बैशाख, काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको चुनावको लागी देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ। शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो।

राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोग जानकारी दिएको छ ।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’ रहेको छ । त्यस्तैगरी चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैटौंमा नेकपा (एकीकृत समावादी) को ‘कलम’ चिह्न रहेको छ।

स्थानिय तह निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ।