जेठ ८,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताउनुभएको छ । आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताउनुभएको हो ।

उहाले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फिलतो देखिएको जिकिर गर्नुभयो । थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको उल्लेख गर्नुभयो । कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने बिषय प्रमुख रहेको उहाको भनाई छ । त्यस्तै थापाले मुलुकका बिभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच बिचार गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । पुस्तकमा वाग्लेद्वारा लिखित बिभिन्न लेखहरु संग्रहित गरिएको छ ।