कोलम्बो ।  श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् । 

यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारी निवासमा छिर्नुअघि त्यहाँबाट अज्ञात स्थलतर्फ भागेका राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले पुगेका थिए । त्यसयता प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यलय ओगटेका छन् । बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए । 

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका छन् । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् । 

यसैबीच, एक शीर्ष बौद्ध भिक्षुले २०० वर्षभन्दा  पुरानो राष्ट्रपति दरबार सरकारी अधिकारीहरूलाई फिर्ता गर्न र यस बहुमूल्य कला र कलाकृतिहरू सुरक्षित गर्न सार्वजनिक आह्वान गरेका छन् । 

राजापाक्षे र उनका सुरक्षा गार्डले छाडेपछि  हजारौँ मानिस दरबार परिसरमा पुगेका छन् ।गोटा गो होम अभियानमा संलग्न एक कार्यकर्ताले समाचार संस्था एएफपीसँग भने, ‘भवनहरू अधिकारीहरूलाई फिर्ता गर्ने कदम चालेको छ ।’