उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाे बताउनु भयो । उहाँले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताउनु भयो । मन्त्री श्रेष्ठले चिनियाँ राजदुत छन सङसँग मन्त्रालयमा छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताउनु भयो । उहाँले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाउनु भयो । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको बताउनु भयो । उहाँले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताउनु भयो । उहाँले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गर्नुभयो ।







