काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताउनु भयो । बिहीवार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताउनु भयो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि हिंसाको महिमा वर्णन गर्नुप¥यो ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनैपनि अर्थ नरहेको पनि बताउनु भयो ।
त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताउनु भयो । नेपाली जनतामा परस्परमा लडने÷लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उहाँको भनाई थियो ।







