नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको छ ।
शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको हो । उहाँले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताउनु भयो । उहाँले नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिनुभयो ।







