काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ ।
बुधवार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताउनु भयो ।

सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने बताउनु भयो । उहाँले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले बिरोधाभाष भइरहेको बताउनु भयो ।

उहाँले सरकार सञ्चालन गर्नेहरुले ढंग पु¥याएर संसद चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाउनु भयो । उहाँले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गर्ने गरेको बताउनु भयो । उहाँले केही राजनीतिक दलहरुले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रुपमा लिइरहेको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभइ झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको बताउनु भयो । उहाँले देशको परिवर्तन भाषणामा मात्रै सिमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभुति गर्न नसकेको दाबी गर्नुभयो । उहाँले गणतन्त्रले नहुने मासिनका लागि केही दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।