काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाईसकेको दावी गर्नुभएको छ । 

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उहाँको जिकिर थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाउनु भयो । उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि काँग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताउनु भयो । उहाँले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताउनु भयो ।