काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ । कुनै एक दलको प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार आत्मसात गर्दै अघि बढ्नुपरेको उहाँको तर्क थियो ।
सोमवाार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्नुभएको विश्वासको मत दिने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले राजनीतिक गठबन्धनहरु आत्म केन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभई देश, जनता पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताउनु भयो । सभापति देउवाले २१ महिना अघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनु परेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दावी समेत गर्नु भयो ।