काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पोखरेलले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले गठबन्धनको सरकार भएको हुनाले न्युनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार सञ्चालनका लागि आचारसंहीता पनि चाहिने बताउनु भयो । उपमहासचिव पोखरेलले कस्ता व्यक्तिहरुलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचारबाट मुक्त भएकाहरुलाई मन्त्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रियाका कामलाई अगाडी बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेको भन्दै सोही अनुरुपको जिम्मेवारी निर्वाह गर्न सक्नेहरुलाई सरकारमा लानुपर्ने बताउनु भयो ।

उहाँले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई फिर्ता नबोलाइने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मन्त्रीहरुले विगतमा राम्रो सँग काम गर्न नपाएका भन्दै मन्त्रीहरु बदल्ने कुरा नभएको स्पष्ट पार्नुभयो । यद्यपी दलहरुका बीचमा सहमति भएमा माओवादीका अन्य मन्त्रीहरु पनि थप हुनसक्ने उहाँले बताउनु भयो ।