काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।
माओवादी केन्द्रको केन्द्रिय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २÷२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रिय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ ।
११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शिर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उहाँले बताउनु भयो । उपमहासचिव तथा केन्द्रिय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताउनु भयो । उहाँले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, माक्र्सवाद, लेनिनवाद र माओवादका आधारभुत सिद्धान्तहरु जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गर्नुभयो ।
केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताउनु भयो । त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उहाँको भनाई छ ।
नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरु आवश्यक पर्ने बताउनु हुन्छ । माओवादी केन्द्रले केन्द्रिय समितिमा २० प्रतिशत युवाहरुलाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले माथिल्लो समितिहरुमा पनि युवाहरुलाई भुमिका दिन पार्टीले कोशिस गरिरहेको बताउनु भयो ।
उहाँले युवा राजनीतिकर्मीहरुले अध्ययन, अनुसन्धान र वैचारिक कामहरुमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।