काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताउनुभएको छ । 

सरकारमा जाने तयारीमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिनुभएको हो । शुक्रवार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भिर हुने आशा आफूले गरेको पनि बताउनु भयो । 

अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहो¥याउनु भयो । क्रान्तिकारीहरु एकतावद्ध भएमात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि शुरु गरेको उहाँको भनाई थियो ।