काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य बीमा कार्यक्रममा समेट्नुपर्ने बताउनु भएको छ । 

नेत्रहीन महिला संघ, नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो आवश्यक्ता औंल्याउनुभएको हो । सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु समेटनका लागि नीति निर्माण नै गर्नुपर्ने भएको उल्लेख गर्दै त्यसमा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रका संघ, संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तरगत फरक क्षमता व्यक्तिहरुलाई रोजगारी दिने कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सांसद कार्कीले संविधानले फरक क्षमता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्न भनेपनि त्यस अनुसार निजी क्षेत्रले काम नगरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो । 

सांसद कार्कीले फरक क्षमता भएका व्यक्तिमैत्री हुनेगरी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुको पनि ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष व्यवस्था गर्न अझै गम्भिर नभएको भन्दै सरकारको आलोचना गरिएको थियो ।