काठमाडौं । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ । 

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताउनु भयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताउनु भयो । उहाँले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताउनु भयो । 

उहाँले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको पनि उल्लेख गर्नुभयो ।