बुटवल । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरु नै भएकाले युट्युव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई थियो ।
बुधवार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल बे्रकिङ न्युजको सम्भावना नरहेको तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिनुभयो ।
विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराउनु भयो । त्यस अवसरमा उहाँले विश्वमा नै टेलिभिजन सञ्चार माध्यामको विकासको इतिहास लामो नभएको पनि उल्लेख गर्नुभएको थियो ।







