काठमाडौं । नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गर्नुभएको छ । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उहाँले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गर्नुभयो । उहाँले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताउनु भयो ।

उहाँले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताउनु भयो । नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गर्नुभयो । 

नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताउनु भयो ।