काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ । 

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बुधवार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गर्नुभयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताउनु भयो । 

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताउनु भयो । उहाँले एमालेसँग पनि एकता गरेर जान सकिने बताउनु भयो । केपी ओलीप्रति संकेत गर्दै उहाँले मति सप्रियो भने एमालेसँग पनि एकता गरेर जान सकिने स्पष्ट पार्नुभयो । देशभरका सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढ्न आफ्नो पार्टीले चाहेको पनि अध्यक्ष नेपालले पटकपटक दोहो¥याउनु भयो । 

 त्यस अवसरमा अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले अघि बढाएको कदमको पनि खुलेर प्रशंशा गर्नुभयो ।