काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । 
बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।

पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनु भयो ।

उहाँले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनु भयो । 

बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताउनु भयो ।